डोटीको आदर्श गाउँपालिका–२ भारिकोट टोलका स्थानीय बासिन्दा सुक्खा पहिरोको जोखिमका कारण त्रासमा बाँच्न बाध्य भएका छन्। बस्ती नजिकै तलबाट जमिन भासिँदै गएपछि घरपरिवारको सुरक्षालाई लिएर स्थानीयवासी चिन्तित बनेका छन्। जुनसुकै बेला पहिरोले थप क्षति पुर्याउन सक्ने आशंकाले उनीहरू सुरक्षित बसोबासको चिन्तामा छन्।
बस्ती तथा सार्वजनिक संरचनासमेत जोखिममा परेको अवस्थाबारे जानकारी लिन डोटीका प्रमुख जिल्ला अधिकारी तुल्छी बहादुर श्रेष्ठसहितको अनुगमन टोलीले आज प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ।
स्थानीयवासीले बस्ती जोगाउन र सम्भावित विपद्बाट सुरक्षित रहन आवश्यक पहल गर्न आग्रह गरेपछि प्रमुख जिल्ला अधिकारी श्रेष्ठ, आदर्श गाउँपालिका अध्यक्ष गणेश खड्कालगायत सुरक्षा निकायका प्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधिहरू घटनास्थल पुगेका हुन्।
अनुगमनका क्रममा टोलीले पहिरोको अवस्था, बस्तीमा पर्न सक्ने सम्भावित क्षति तथा स्थानीयले भोगिरहेको जोखिमबारे जानकारी लिएको छ। पहिरोको जोखिम बढ्दै जाँदा स्थानीयवासीका लागि सुरक्षित आवासको व्यवस्था र सम्भावित मानवीय तथा भौतिक क्षति रोक्नु प्रमुख चुनौती बनेको छ।
आदर्श गाउँपालिका अध्यक्ष गणेश खड्काले पहिरोको जोखिमलाई ध्यानमा राख्दै सम्भावित क्षति रोक्न आवश्यक सतर्कता अपनाउने, जोखिममा रहेका बासिन्दाको सुरक्षामा ध्यान दिने तथा आपत्कालीन अवस्था आए तत्काल उद्धारका लागि तयारी अवस्थामा रहने विषयमा छलफल भएको जानकारी दिनुभयो।
स्थानीयवासीले भने तत्काल सुरक्षाको प्रत्याभूति दिलाउनुका साथै समस्याको दीर्घकालीन समाधान खोज्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूले पहिरोको प्राविधिक अध्ययन गरी नियन्त्रणका उपाय अपनाउन र बस्ती सुरक्षित राख्न नसकिने अवस्था भए जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउनुपर्ने बताएका छन्।
सम्बन्धित निकायले तत्काल प्राविधिक टोलीबाट अध्ययन गराउने, जोखिमको यकिन मूल्याङ्कन गर्ने, आवश्यक परे अस्थायी सुरक्षित आवासको व्यवस्था मिलाउने र दीर्घकालीन समाधानका लागि ठोस योजना अघि बढाउनुपर्ने देखिन्छ।
भारिकोटका स्थानीयवासी अहिले आफ्नो घर, परिवार र भविष्यको सुरक्षाको प्रतीक्षामा छन्। समयमै आवश्यक कदम चाल्न सकिएन भने सम्भावित विपद्ले थप क्षति पुर्याउन सक्ने भएकाले सम्बन्धित निकायको ध्यान तत्काल प्रभावित नागरिकको सुरक्षा र पुनःस्थापनातर्फ केन्द्रित हुन आवश्यक छ।












