तेज बहादुर डुम्रेल डोटी- दिपायल सिलगढी नगरपालिका–३ स्थित दुर्गामाणुदेखि तेडिमाडुसम्म जोड्ने पर्यटकीय झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। पुल निर्माणसँगै स्थानीयको आवागमन सहज हुनुका साथै यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
बाफिघाटस्थित दुर्गामाणु क्षेत्रमा निर्माण गरिएको उक्त पुलले दिपायल, कैलडा, बाफि र इछाली क्षेत्रलाई जोड्नेछ। पुल निर्माण सम्पन्न भएपछि स्थानीयवासीमा खुसी छाएको छ भने यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सम्भावना पनि बढेको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम कमिटी सदस्य के.बी. साउदका अनुसार, लामो प्रयास र निरन्तरको मेहनतपछि पुल निर्माण सम्पन्न भएको हो। यस पुललाई दुई किनार जोड्ने संरचनाका रूपमा मात्र नभई स्थानीयको आशा, सम्भावना र पर्यटन विकासको नयाँ ढोकाका रूपमा लिइएको छ।

निर्माणस्थलमा राखिएको विवरण बोर्डअनुसार पुलको लम्बाइ १२० मिटर रहेको छ। पुल निर्माणका लागि केदार ग्रामीण विकास समाज नेपालले प्राविधिक तथा सामाजिक सहजीकरणमा सहयोग गरेको उल्लेख छ। निर्माणमा स्थानीय तह, उपभोक्ता समिति तथा संघीय सरकारको समेत योगदान रहेको विवरण बोर्डमा उल्लेख गरिएको छ।
पुल निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी, सरोकारवाला निकाय तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गरिएको छ। आगामी दिनमा पनि क्षेत्रको विकास, पर्यटन प्रवर्द्धन र जनताको समृद्धिका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता जनाइएको छ।

यसैबीच, विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा दिपायल सिलगढी नगरपालिकावासीसहित सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको छ।











