विज्ञापन

डोटीमा बडादशैंको चहलपहल, दिपायल सिलगढीमा संयुक्त बजार अनुगमन

विज्ञापन
Image

डोटेली आवाज, दिपायल
बडादशैं नजिकिँदै गर्दा डोटी जिल्लामा चहलपहल बढ्दै गएको छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिपायल सिलगढी र आसपासका बजारमा भीडभाड बढेसँगै दिपायल सिलगढी नगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको छ।

नगरपालिकाले प्रमुख व्यापारिक केन्द्र दिपायल राजपुर क्षेत्रमा संयुक्त बजार अनुगमन गरेको जनाएको छ। नगर उप–प्रमुख कलावति महर साउदको संयोजकत्वमा सम्पन्न उक्त अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटी, नापतौल तथा गुणस्तर कार्यालय, उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरू सहभागी थिए।

दशैं–तिहार जस्ता चाडपर्वलाई लक्षित गरेर गरिएको अनुगमनका क्रममा उपभोक्ता र व्यापारीलाई सचेत गराइएको नगरपालिकाले जनाएको छ। अनुगमन टोलीले बजारमा उपभोक्ताको स्वास्थ्य सुरक्षा, कालोबजारी, मूल्यवृद्धि र म्याद गुज्रेका वस्तुको बिक्री वितरण नियन्त्रणमा विशेष ध्यान दिएको थियो।

उप–प्रमुख साउदले भनिन्, “चाडपर्वको समयमा कालोबजारी र अखाद्य वस्तुको बिक्री वितरणको सम्भावना रहने भएकाले बजार अनुगमनलाई तीव्र पारिएको हो।”

अनुगमनका क्रममा पसल, होटल, मासु पसललगायतका व्यवसायमा मूल्य सूचीको प्रबन्ध, सरसफाइको अवस्था र म्याद गुज्रेका वस्तुको स्थिति जाँच गरिएको थियो। नगरपालिकाले आगामी दिनमा नगरका सबै वडामा बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन