
(दिनेश जोशी )डोटी — सायल गाउँपालिका–५ पटकानीका २२ वर्षीय बिनोद नागरिकको मुटुको शल्यक्रिया तथा सायल–६ बिरलकाडाका २२ वर्षीय राम विकको उपचारका लागि श्री भवानी भल्मा एकता समाजले आर्थिक सहयोग गरेको छ।
मुटुमा सास फेर्न प्रयोग हुने नलीमा समस्या देखिएपछि नागरिकको काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा शल्यक्रिया हुने भएको हो। आर्थिक अवस्था कमजोर रहेका नागरिकको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले समाजले १२ हजार ९ सय ४० रुपैयाँ सहयोग गरेको जनाएको छ।
त्यस्तै, भारतको तमिलनाडुमा उपचाररत विकलाई समाजले २० हजार ७८ रुपैयाँ आर्थिक सहयोग गरेको छ। आर्थिक अवस्था कमजोर रहेका विकको उपचारमा केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको समाजले जनाएको छ।
समाजले दुवै युवाको उपचार सफलताको कामना गर्दै शीघ्र स्वास्थ्यलाभको शुभकामना दिएको छ। साथै सहयोग गर्ने सम्पूर्ण दाताहरूप्रति धन्यवाद व्यक्त गरेको छ।
सहयोगसम्बन्धी जानकारी समाजका अध्यक्ष उत्तम बोगटी, उपाध्यक्ष हर्क बिष्ट, सचिव नारद बोगटी, सहसचिव गोविन्द बोगटी, कोषाध्यक्ष चक्र बोगटी, सहकोषाध्यक्ष कृष्ण बोगटी र भूतपूर्व अध्यक्ष कृष्ण बोगटीले दिएका हुन्।
समाजले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार मानवीय तथा सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने जनाएको छ।











