विज्ञापन

खप्तडमा विद्युत् विस्तार र सडक कालोपत्रेका लागि बजेट

विज्ञापन
Image

डोटी— सुदूरपश्चिमको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य खप्तडमा विद्युत् सेवा विस्तारका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत १ करोड ५२ लाख रुपैयाँ विनियोजन गरेको छ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने उक्त योजना बजेटमा समावेश भएसँगै खप्तड क्षेत्रमा विद्युत् सेवा विस्तारको लामो समयदेखिको प्रयासले मूर्त रूप लिन थालेको छ।
खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले विद्युत् सेवा विस्तारलाई प्राथमिकताका साथ अघि बढाउन निरन्तर पहल गर्दै आएको थियो। समितिका कार्यकारी निर्देशक खेमराज जोशीको सक्रियता तथा सरोकारवाला निकायसँगको समन्वयका कारण योजना बजेटमा समेटिएको जनाइएको छ।
समितिका अनुसार अभियानलाई सफल बनाउन वैकुण्ठ अर्याल, विष्णु भण्डारीलगायत विभिन्न निकायका पदाधिकारीले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। खप्तडलाई सुविधा सम्पन्न, व्यवस्थित र दिगो धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यअनुरूप सञ्चालन गरिएको प्रयासले सकारात्मक परिणाम दिएको निर्देशक जोशीले बताए।
यसैबीच, समितिको पहलमा सिलगढी–बगलेख–झिग्राना सडकअन्तर्गत समितिको कार्यालयदेखि एनटिभी टावरसम्मको सडक कालोपत्रे हुने भएको छ। जग्गा विवादका कारण लामो समयदेखि रोकिएको उक्त सडक निर्माण कार्य समितिको समन्वयमा विवाद समाधान भएपछि प्रदेश सरकारले २ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो।
सडक कालोपत्रे नहुँदा खप्तड जाने पर्यटक र स्थानीयवासीले वर्षौंदेखि सास्ती भोग्दै आएका थिए। विद्युत् सेवा विस्तार र सडक स्तरोन्नतिसँगै खप्तड क्षेत्रमा पर्यटन प्रवर्द्धन, स्थानीय जनजीवनमा सहजता तथा समग्र पूर्वाधार विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन