विज्ञापन

डोटीमा पहिलोपटक आधारभूत अस्पताल सञ्चालनमा, साउन १ देखि सेवा सुरु हुने

विज्ञापन
Image

दिपायल — डोटीको आदर्श गाउँपालिकामा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पतालको भवन निर्माण सम्पन्न भएको छ। गाउँपालिकाले आगामी साउन १ गतेदेखि अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ। जिल्लामै पहिलोपटक स्थानीय तहको आधारभूत अस्पतालबाट नियमित स्वास्थ्य सेवा सुरु हुन लागेको हो।
गाउँपालिकाको केन्द्र वडा नम्बर २ मौवानगरदहमा निर्माण गरिएको अस्पताल भवन २०८० असार २६ गतेदेखि निर्माण सुरु गरिएको थियो। करिब ३० करोड ११ लाख रुपैयाँ अनुमानित लागत रहेको आयोजना रोयल कन्स्ट्रक्सन, धनगढीले २६ करोड ६५ लाख १६ हजार रुपैयाँमा निर्माण गर्ने ठेक्का सम्झौता गरेको थियो।
गाउँपालिका अध्यक्ष गणेशबहादुर खड्काका अनुसार अस्पतालको औपचारिक उद्घाटनसँगै साउन १ गतेदेखि सेवा प्रवाह सुरु गरिनेछ। विशेषज्ञ चिकित्सकसहित आवश्यक जनशक्ति व्यवस्थापन गरी नियमित स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको उनले बताए।
अस्पताल सञ्चालनमा आएपछि आदर्श गाउँपालिकाका बासिन्दासँगै छिमेकी सायल गाउँपालिकाका नागरिकले पनि प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ। सामान्य उपचारका लागि समेत दिपायल सिलगढी धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास गाउँपालिकाको छ।
डोटीका नौ स्थानीय तहमध्ये हालसम्म कुनै पनि पालिकाले आधारभूत अस्पताल सञ्चालनमा ल्याउन सकेका छैनन्। पूर्वीचौकी गाउँपालिकामा अस्पताल भवन निर्माण सम्पन्न भई उद्घाटन भए पनि त्यहाँबाट हाल सानागाउँ स्वास्थ्यचौकीमार्फत सेवा प्रवाह भइरहेको छ।
यता शिखर नगरपालिकामा १५ शय्याको आधारभूत अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ। जिल्लाका केही अन्य स्थानीय तहमा भने आधारभूत अस्पताल भवन निर्माणको काम अझै अलपत्र अवस्थामा छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन