
बैतडी, पाटन नगरपालिका–८ खोड्पे जसुलीखालीका संस्कारशिरोमणि ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले विगत २७ वर्षदेखि दलित बस्तीमा धार्मिक कर्मकाण्ड गर्दै जातीय विभेद र सामाजिक कुरीति हटाउने अभियान सञ्चालन गर्दै आएका छन्।
जिल्लाको प्रसिद्ध श्री वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गका मूल पुजारीसमेत रहेका पन्तले वैदिक विधिअनुसार दलित समुदायमा सप्ताह, शिवपुराण, व्रतबन्ध, विवाह, न्वारन, गृहप्रवेश, वास्तुपूजालगायत विभिन्न धार्मिक अनुष्ठान सम्पन्न गर्दै आएका छन्। उनका अनुसार हालसम्म ३७ सप्ताह, २३ शिवपुराण, २८९ लघुरुद्राभिषेक, १८१ महारुद्राभिषेक, ६९५ सत्यनारायण पूजा, ५८९ ग्रहशान्ति, ३९ शतचण्डी तथा ५९ अखण्ड रामायणसहित सयौँ धार्मिक कर्मकाण्ड सम्पन्न भइसकेका छन्।
पन्तले जातीय विभेद अन्त्य गर्ने उद्देश्यले १ हजार ३९९ जना शिल्पी समुदायका व्यक्तिलाई जनैधारण गराउनुका साथै ३२२ दलित महिलालाई दुुधागो–दोरक धारण गराइसकेको जानकारी दिए। धर्मग्रन्थले जातीय तथा लैङ्गिक विभेदलाई स्वीकार नगरेको उल्लेख गर्दै उनले समाजमा अझै कायम रहेको छाउपडी प्रथा र जातीय छुवाछुत हटाउन धार्मिक अगुवाहरू अग्रसर हुनुपर्ने बताए।
उनका अनुसार सुदूरपश्चिमका धेरै स्थानमा अझै पनि ब्राह्मणहरू दलित बस्तीमा गएर न्वारन, विवाह र व्रतबन्धजस्ता कर्मकाण्ड गर्न हिच्किचाउने अवस्था छ। चिहानघाटसम्म जातीय विभेद हुने गरेको उल्लेख गर्दै उनले यस्ता कुरीतिविरुद्ध आफू निरन्तर लागिरहेको बताए।
दलित समुदायका घरमा धार्मिक कार्य सम्पन्न गर्नुका साथै भोजन ग्रहणसमेत गर्दै आएको बताउँदै पन्तले दलित समुदायभित्र पनि आपसी विभेद देखिने गरेको र त्यसलाई समेत अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याए।
सामाजिक सुधारको अभियान थालेपछि आफ्ना पुर्ख्यौली ५७५ यजमान गुमाउनुपरेको उनले बताए। सामाजिक सञ्जालमार्फत गालीगलौज र आलोचना खेप्नुपरे पनि आफू अभियानबाट विचलित नभएको उनको भनाइ छ।
“धर्मशास्त्रका आधारमा महिला र पुरुष दुई मात्र जात हुन्, अन्य जात हुँदैनन्,” पन्तले भने, “समाजमा रहेका विभेदकारी सोच र कुरीति अन्त्यका लागि सबै धार्मिक क्षेत्र समावेशी बन्न आवश्यक छ।”
जातीय विभेद गर्ने व्यक्तिमाथि कानुनी कारबाही हुनुपर्ने माग गर्दै उनले धार्मिक तथा सामाजिक सुधारका लागि आफ्नो अभियानलाई निरन्तरता दिने बताए।









