विज्ञापन

सायलको देवारमाण्डौमा वडा स्तरीय खुला भलिबल प्रतियोगिता सम्पन्न

विज्ञापन
Image

तेज डुम्रेल, सायल (डोटी)

डोटीको सायल गाउँपालिका–५ देवारमाण्डौमा देवारमाण्डौ युवा क्लबद्वारा आयोजना गरिएको वडा स्तरीय खुला भलिबल प्रतियोगिता सम्पन्न भएको छ।  प्रतियोगितामा डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का खेलाडी टोलीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ।  विजेता टोलीले नगद रु. ४०,०००, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ।  त्यसैगरी, द्वितीय स्थान प्राप्त गर्ने देवारमाण्डौ युवा क्लब ‘ए’ टोलीले रु. २०,०००, ट्रफी, प्रमाणपत्र र मेडल हात पारेको छ भने  तृतीय स्थान हासिल गर्ने शिखर नगरपालिका–११ का खेलाडी टोलीले रु. १०,०००, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन्।  प्रतियोगितामा सायल गाउँपालिकाका विभिन्न टोल र छिमेकी स्थानबाट जम्मा ११ टोलीले सहभागिता जनाएका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. ५ का वडाध्यक्ष बहादुर साउदले विजयी टोलीलाई बधाई दिँदै खेलकुदले युवालाई अनुशासन, एकता र नेतृत्व क्षमतामा उन्नत बनाउने माध्यमको रूपमा योगदान पुर्‍याउने बताउनुभयो।  सो अवसरमा विशिष्ट अतिथि कृषि विकास शाखाका प्रमुख मदन खड्का, वडा सदस्य अमरबहादुर खड्का, भिमबहादुर बोगटी, प्रहरी चौकी डौडका इन्चार्ज दानसिं कार्कीलगायतको उपस्थिति रहेको थियो।

प्रतियोगिताको क्रममा कालिका माध्यमिक विद्यालयकी छात्रा बसन्ती खातिको सुमधुर गायनले खेलाडी तथा खेलप्रेमीहरूलाई उत्साहित बनाएको थियो।  त्यसैगरी, प्रतियोगितामा उत्कृष्ट खेलाडीको रूपमा गणेश खड्का, उत्कृष्ट सेटर पारस बोहरा र उत्कृष्ट स्पाइकर गणेश भाटलाई विशेष सम्मान प्रदान गरिएको थियो।

देवारमाण्डौ युवा क्लबका संयोजक कर्णबहादुर बोगटीले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न पाउँदा अत्यन्त हर्ष महसुस भएको बताउनुभयो।  उनका अनुसार, यो प्रतियोगिता हरेक वर्ष तिहारको अवसरमा आयोजना गरिँदै आएको हो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन