- प्रकाशकीय
डोटी जिल्ला परापूर्वकालदेखि नै सुदूरपश्चिमको प्रमुख केन्द्रको रूपमा स्थापित रहँदै आएको छ। डोटीको ऐतिहासिक दिपायल–सिलगढी सुदूरपश्चिमका ९ वटै जिल्लाका लागि सुविधाजनक भू–केन्द्र हो। धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि डोटी सुदूरपश्चिम प्रदेशको अमूल्य सम्पदा हो।
बि.सं. २०६२/६३ को जनआन्दोलनपछि राज्य पुनःसंरचनाको क्रममा सुदूरपश्चिमका ९ वटै जिल्लालाई सुदूरपश्चिम प्रदेशको रूपमा घोषणा गरियो। प्रदेशको राजधानी कहाँ हुने भन्ने बहस शुरु भयो। भौतिक संरचना र ऐतिहासिक पृष्ठभूमिका आधारमा दिपायललाई राजधानी बनाउन डोटीले प्रष्ट दाबी गर्यो। तर, अन्य जिल्लाहरूको असहमति र डोटीबाट निर्वाचित सांसदहरूको निष्क्रियताले त्यो दाबी सफल हुन सकेन। यस दिनलाई डोटेलीहरूले आजसम्म ‘कालो दिन’को रूपमा सम्झन्छन्।
आज पनि डोटी भौतिक विकासका दृष्टिले पछि परेको छ। चेतनाको स्तरमा अझ धेरै काम गर्न बाँकी छ। डोटीका सवालहरू प्रदेशको मात्र नभई केन्द्रको मुद्दा बन्नुपर्ने हो, तर त्यसका लागि अझै संघर्ष गर्नुपर्ने देखिन्छ। डोटीमा सञ्चालित अनेक मिडियाहरू हुँदाहुँदै पनि डोटेली जनताको वास्तविक पीडा र समस्याहरू अपेक्षाकृत रूपमा उजागर हुन सकेका छैनन्।
यस पृष्ठभूमिमा, दिपायलबाट “डोटेली आवाज अनलाइन” सञ्चालन गर्ने हाम्रो प्रयास आवाजविहीन डोटेलीहरूको प्रतिनिधि बन्ने दृढ प्रतिबद्धता हो। यो अनलाइन कुनै पनि पूर्वाग्रहभन्दा माथि उठेर काम गर्नेछ—डोटीको सकारात्मक अभ्यासको प्रशंसा गर्नेछ, साथै विकासको बाटोमा अवरोध सिर्जना गर्ने षड्यन्त्रहरू उजागर गर्नेछ।
यस यात्रामा आम डोटेली दाजुभाइ र दिदीबहिनीहरूको साथ, सहयोग र सुझाव हाम्रो लागि अमूल्य हुनेछ। कमजोरीहरूबाट सिक्दै, पाठक र श्रोता सबैको पृष्ठपोषणसहित हामी अघि बढ्नेछौं।
अन्तमा, नेपालीहरूको महान् चाड विजया दशमी (बडादशैं २०८२) को पावन अवसरमा समस्त पाठक, श्रोता, शुभचिन्तक र विज्ञापनदाताहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं। सुख, शान्ति र समृद्धिको मंगलकामना!
–– डोटेली आवाज अनलाइन
प्रकाशक–सम्पादक टीम







