तेज डुम्रेल
दिपायल, डोटी।
नेपालीहरूको दोस्रो महान् पर्व दिपावली तथा छठ पर्वको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटीले चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ।
आईतबार जिल्ला सदरमुकाम सिलगढीस्थित पार्टी कार्यालयमा आयोजित उक्त कार्यक्रममा पार्टीका पदाधिकारी, सदस्य तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा डोटीका जिल्ला सभापति केशव बलायरले आफ्नै पार्टीमाथि विभिन्न किसिमका आक्रमणहरू भए तापनि नेपाली जनताको आकर्षण राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ झन् बढ्दै गएको दाबी गर्नुभयो। उहाँले हालको परिवर्तित राजनीतिक परिस्थितिमा रास्वपाले संगठन शुद्धीकरण तथा सुदृढीकरण अभियान सुरु गरेको जानकारी समेत दिनुभयो।
त्यसैगरी जिल्ला संगठन विभागका उपप्रमुख शालिभान साउँदले पनि कार्यक्रमलाई सम्बोधन गर्दै शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रमको अवसर पारेर आसन्न प्रतिनिधि सभा निर्वाचनसम्बन्धी तयारी, पदीय जिम्मेवारी वहन तथा हेरफेर, संगठन विस्तार, नयाँ मतदाता परिचयपत्र, नयाँ सदस्यता, सदस्यता शुल्क तथा आर्थिक व्यवस्थापनलगायत विषयमा समेत विस्तृत छलफल गरिएको पार्टीले जनाएको छ।








