तेज डुम्रेल
दिपायल ।
डोटी जिल्ला प्रशासन कार्यालयले तिहार तथा छठ पर्वलाई शान्ति, सुरक्षा र सौहार्दपूर्ण वातावरणमा मनाउन जिल्लावासीलाई आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय, डोटीका प्रमुख जिल्ला अधिकारी भिष्मबहादुर ऐडीले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै नागरिकलाई विधि–विधानअनुसार पर्व मनाउन अनुरोध गरेका छन्।
सूचनामा विद्युत् उपकरण, मादक पदार्थ, आतिशबाजी, ज्वलनशील वस्तु तथा सवारी साधनको दुरुपयोग नगर्न सबैलाई सचेत गराइएको छ। साथै, धार्मिक, जातीय वा सामाजिक सद्भाव भड्काउने कुनै पनि गतिविधि नगर्न अनुरोध गरिएको छ।
प्रशासनले सूचनामार्फत जनाएको छ— “मदिरा सेवन गरी होहल्ला, झैझगडा, सवारीसाधनको लापरवाहीपूर्ण प्रयोग, मादक पदार्थको कारोबार तथा बिक्री वितरणमा संलग्न भए कानूनी कारबाही हुनेछ।”
त्यस्तै, पर्वका अवसरमा राति ९ बजेपछि हुने सार्वजनिक कार्यक्रम, नाचगान तथा सांस्कृतिक गतिविधि समयमा सम्पन्न गर्न पनि प्रशासनले आग्रह गरेको छ।









