तेज डुम्रेल
दिपायल
डोटी जिल्लाको स्वास्थ्य क्षेत्रमा जोरायल गाउँपालिका उत्कृष्ट बनेको छ। स्वास्थ्य कार्यालय डोटीले समग्र स्वास्थ्य सूचकको मूल्यांकनमा ८३.९ अंक प्राप्त गर्दै जोरायल गाउँपालिकाले उत्कृष्ट स्थान हासिल गरेको हो। त्यस्तै, के.आई.सिंह गाउँपालिकाले ८३.७ अंक प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको छ भने आदर्श गाउँपालिकाले ८२.७ अंक प्राप्त गर्दै तेस्रो स्थानमा पुगेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ।
डोटी जिल्लामा २ नगरपालिका र ७ गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेका छन्। गत आर्थिक वर्ष ०८१/०८२ मा सञ्चालन भएका स्वास्थ्य गतिविधिहरूको मूल्यांकन गरी स्वास्थ्य कार्यालय डोटीले जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठीमा नतिजा सार्वजनिक गरेको हो।
स्वास्थ्य कार्यालय डोटीले बिहीबार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा सूचकका आधारमा उत्कृष्ट प्रदर्शन गर्ने स्वास्थ्य संस्थाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख दिल्ली रमण जोशीले प्रत्येक वर्ष विभिन्न सूचकका आधारमा स्थानीय तहहरूको मूल्यांकन गर्दै आएको जानकारी दिए। त्यस अवसरमा नौ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूलाई सम्मानपत्र र कदरपत्र प्रदान गरिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ।
त्यसैगरी, जिल्लाको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने जिल्ला अस्पताल डोटी, सुजङ अस्पताल राजपुर, शैलेश्वरी अस्पताल दिपायल र आयुर्वेद कार्यालय दिपायललाई पनि कदरपत्र प्रदान गरिएको थियो।









