तेज डुम्रेल
दिपायल डोटी
कैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाँडीस्थित सडकमा शनिबार दिउँसो भएको बस दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ ।
धनगढीबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख १९०७ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा धनगढी उपमहानगरपालिका–४ का ६० वर्षीय गणेश शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका शाहीलाई उपचारका लागि मायामेट्रो अस्पताल धनगढी लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो ।
बसले पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भई सडकबाट दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा बसमा सवार २० जना घाइते भएका छन् । तीमध्ये ९ जनाको मायामेट्रो अस्पतालमा, ४ जनाको नवजीवन अस्पतालमा, ४ जनाको स्वस्तिक कार्डियो अस्पतालमा र ३ जनाको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि बस चालक फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यस घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।








