विज्ञापन

शान्ति सुरक्षा मजबुत बनाउन प्रहरी–पत्रकार सहकार्य आवश्यक : प्रहरी उपरीक्षक नेपाल

विज्ञापन
Image

तेज डुम्रेल, दिपायल

 जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक (एसपी) महेन्द्र नेपालले समाजमा शान्ति सुरक्षा र अमन–चयन कायम गर्न पत्रकार र प्रहरीबीच घनिष्ठ सहकार्य अपरिहार्य रहेको बताएका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीले आयोजना गरेको पत्रकार अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रममा बोल्दै एसपी नेपालले पत्रकारलाई “बिना बर्दीको प्रहरी” भन्दै सत्य–तथ्य सूचना उपलब्ध गराई सहयोग गर्न आग्रह गरे। उनले भने, “हामी पत्रकारहरूसँग नियमित सम्पर्क, समन्वय र सहकार्य गर्न चाहन्छौं। आवश्यक सल्लाह–सुझाव लिएर कार्ययोजना बनाई जिल्लाको शान्ति सुरक्षा अझ मजबुत बनाउने हाम्रो लक्ष्य छ।”

हालै सरुवा भई डोटी आएका एसपी नेपालले कार्यक्रममा पत्रकारहरूले उठाएका विभिन्न सुझावलाई कार्ययोजना बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले दसैं–तिहारलाई लक्षित गर्दै जिल्लाभर शान्ति सुरक्षा बलियो पारिएको दाबी गर्दै ३५ वटै युनिटमा ३०० भन्दा बढी प्रहरी खटाइएको तथा ब्याकअपका रूपमा सशस्त्र प्रहरी र ट्राफिक प्रहरी पनि तयारी अवस्थामा रहेको जानकारी दिए।

नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बमले प्रहरी र पत्रकारबीचको सम्बन्ध अझ सुमधुर बनाउन तथा पत्रकारलाई समयमा सूचना पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

अन्तरक्रियामा सहभागी पत्रकारहरूले जिल्लामा चोरी, लुटपाट, सडक दुर्घटना नियन्त्रण, सामाजिक सञ्जालको दुरुपयोग, यात्रु सहायता कक्ष, भाडादरमा एकरूपता ल्याउने, बजार अनुगमन, मदिरा नियन्त्रणलगायतका विषयमा सुझाव राख्दै आवश्यक व्यवस्थापनका लागि प्रहरीको ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन