डोटेली आवाज, दिपायल
आगामी २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली संकलन कार्य पुनः सुरु भएको छ। निर्वाचन आयोगको निर्णयअनुसार २०८२ असोज ३० गतेसम्म नामावली संकलन जारी रहनेछ।
आयोगले जारी गरेको प्रेस विज्ञप्तिअनुसार १६ वर्ष उमेर पूरा भइसकेका नेपाली नागरिकता प्रमाणपत्र प्राप्त नेपाली नागरिकले बिहान १० बजेबाट बेलुकी ५ बजेसम्म प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा गएर नाम दर्ता गराउन सक्नेछन्। आयोगको वेबसाइट www.election.gov.np वा प्रि–रजिस्ट्रेशन प्रणाली (applyvr.election.gov.np) मार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
मतदाता नामावली संकलनको क्रममा १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता प्राप्त गरेका नागरिकले नाम दर्ता नगरेमा आगामी प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्न नपाउने चेतावनी आयोगले दिएको छ। विवाह, बसोबास स्थल परिवर्तन, नाम, थर तथा अन्य विवरणमा परिवर्तन भएमा पनि आवश्यक कागजातसहित नामावली अद्यावधिक गर्न सकिने व्यवस्था छ।
निर्वाचन आयोगले सबै योग्य नागरिकलाई आफ्नो नाम दर्ता र विवरण अद्यावधिक गरी निर्वाचनमा सहभागी हुन आग्रह गरेको छ।









