– विपिन श्रेष्ठ, सिलगढी
डोटीको पुरानो शहर सिलगढी ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण रहँदै आएको छ। यो शहरलाई त्यसै अनुरूप विकास गर्नुपर्ने माग विगत लामो समयदेखि उठ्दै आएको हो।
नेपाल सरकारले केही वर्षअघि सिलगढीलाई सांस्कृतिक सहरका रूपमा घोषणा गरेको थियो। त्यो बेला स्थानीयवासीहरूमा ठूलो उत्साह र गर्वको अनुभूति भएको थियो।
हरेक वर्ष सांस्कृतिक सहरका लागि बजेट आएको कुरा सुन्न पाइन्छ, तर त्यस बजेट कहाँ खर्च भयो, के–के योजना बने, र उपलब्धि के हासिल भयो भन्नेबारे स्थानीय नागरिक अझै अनभिज्ञ छन्।
स्थानीय बासिन्दाहरू निराश छन् र भन्छन् — “घोषणा त भयो, तर परिवर्तन देखिँदैन।”
आज पनि सिलगढी बजारका गल्लीहरू धुलो र फोहरले ढाकिएका छन्। सडकमा खाल्डा छन्, बजारको मुटु मानिने स्थानहरूमा विकासका काम अधुरै छन्, र स्थानीय व्यापारीहरू असन्तुष्ट छन्।
वर्षौँदेखि पिच सडक मर्मत, सरसफाइ सुधार, र पार्किङ व्यवस्थापनको माग गरिँदै आएको छ, तर सम्बन्धित निकायहरूको प्रतिक्रिया सुस्त र प्रभावहीन छ। सुनसान गल्लीहरूले पनि अब आफैं बोलिरहेका छन् “हामीलाई पनि विकास चाहियो।” स्थानीय बासिन्दा भन्छन् , “सिलगढी बजार अब टुहुरो जस्तो भइसकेको छ, कसैले हेर्ने वाला छैन।”
यसकारण, अब सम्बन्धित निकाय, नगरपालिकाका जनप्रतिनिधि र प्रदेश सरकारले गम्भीर ध्यान दिनुपर्ने बेला आएको छ। हामी आग्रह गर्छौं — सिलगढीलाई अब टुहरो बन्न नदिनुहोस्। यसका लागि योजनाबद्ध विकासका काम अघि बढाउनुपर्छ। स्थानीय बासिन्दा, नागरिक समाज र सबै सचेत वर्गले अब दबाब र जागरणको अभियान सुरु गर्नुपर्छ।
सांस्कृतिक सहर भन्ने नाम नारामा मात्र होइन, व्यवहारमा पनि देखिनु पर्छ।







