दीपा दाहाल……..
दसैँमा खाइने विभिन्न खानेकुराहरू र त्यसले हाम्रो स्वास्थ्यमा पार्न सक्ने असरहरूबारे हामी खासै सोच्दैनौँ। सामान्य दिनमा सन्तुलित खानेकुरा खाने प्रयास गरे पनि दसैँमा त्यो सम्भव हुँदैन
त्यसैले, दसैँको पूरा मज्जा लिँदै कसरी स्वस्थ खानपान अपनाउन सकिन्छ ? यसबारे बीएण्डबी अस्पतालमा कार्यरत डाइटिसियन अंशु बज्राचार्यसँग गरिएको कुराकानी:
- दसैँमा खाइने खानेकुराहरूले हाम्रो शरीरको पोषणमा कस्तो खालको मुख्य परिवर्तनहरू देखाउँछन्?
सामान्य दिनमा हामी हल्का र सरल नेपाली खाना (भात, मासु, दाल, तरकारी, अचार) खान्छौँ, जुन पचाउन सजिलो हुन्छ। तर, दसैँमा जमघट हुने भएकाले खाना अलिकति भारी हुन्छ।
यो बेला प्रोटिन, क्यालोरी, कार्ब्स र चिल्लो पदार्थको सेवन एकदम बढी हुन्छ। साधारण दिनमा सन्तुलित आहार खाए पनि दसैँमा पोषणमा चिल्लो पदार्थ र प्रोटिनको मात्रा बढी हुन्छ, जसले पाचनमा समस्या निम्त्याउन सक्छ।
- दसैँको बेलामा स्वास्थ्यलाई राम्रो राख्नका लागि केही व्यावहारिक सुझावहरू छन् ?
दसैँ वर्षमा एकचोटि आउने पर्व भएकाले क्यालोरी गनेर बस्नुभन्दा रमाइलोमा ध्यान दिनुहोस्, तर आफू सजग र सचेत चाहिँ हुनुपर्छ।
खानाको मात्रा र छनोटमा ध्यान:
• मिठाई घरमै बनाएर दिनमा एउटा-दुइटासम्म खान सकिन्छ। रोटी वा अन्य परिकार बनाउँदा घिउ र चिनीको सट्टामा गुड प्रयोग गर्न सकिन्छ।
• दसैँमा स्वस्थ रहन प्रि-प्लान गर्नुहोस्। के खाने, कति खाने भनेर पहिले नै योजना बनाउनुहोस्।
• सबै कुराको मज्जा लिन थोरै-थोरै, मात्रा मिलाएर खाने गर्नुहोस्।
• मासु मात्रै नखानुहोस्, यससँगै सलाद, फाइबरयुक्त खानेकुराहरू खाँदा ग्लुकोज नियन्त्रण हुन्छ र पचाउन सजिलो हुन्छ।
शारीरिक गतिविधि र पाचन:
• खाना खाएपछि १५ मिनेट जति हिँड्नुभयो भने सुगर लेभल नियन्त्रणमा आउँछ र शरीरमा बोसो कम जम्मा हुन्छ।
• खाना मजाले चपाएर, बिस्तारै खानुहोस्। यसले पाचन राम्रो हुन्छ र हावा निल्ने समस्या कम गर्छ।
पानी र निद्रा:
• समय-समयमा पानी पिएर शरीरलाई हाइड्रेटेड राख्नुहोस्। कहिलेकाहीँ भोक लागेजस्तो भए पनि त्यो प्यासले गर्दा हुन सक्छ। पानी पिउँदा खाना कम खाइन्छ।
• राम्ररी सुत्नुहोस्। यसले तनाव कम गर्छ, मस्तिष्क बलियो हुन्छ र तपाईँलाई सजग रहन मद्दत गर्छ।
• सुत्नुभन्दा तीन घण्टा अगाडि खाएर सुत्ने गर्नुहोस्।
• घरमै बनेका खानेकुरा, सलाद, सूप, फाइबरयुक्त खानेकुरा र दहीजस्ता प्रोबायोटिक खानेकुराहरू सेवन गर्नुहोस्। दहीले पचाउन सजिलो गर्छ।
- मिठाई वा रोटी बनाउँदा चिनीको सट्टा गुड राख्दा राम्रो हुन्छ भन्नुभयो। त्यो किन होला? त्यसले स्वास्थ्यमा राम्रो असर गर्छ कि?
चिनी एकदमै रिफाइन्ड हुन्छ, जुन धेरै प्रोसेस्ड भएर आउँछ र यसले सुगर एकदमै बढाउँछ। यो मस्तिष्क वा कुनै पनि अंगका लागि राम्रो होइन। गुडमा धेरै प्रोसेसिङ नहुने भएकाले चिसो महिनामा यसको प्रयोग शरीर र स्वास्थ्यका लागि धेरै राम्रो हुन सक्छ। गर्मी महिनामा मिश्री प्रयोग गर्दा पनि राम्रो हुन्छ किनभने यो पनि धेरै रिफाइन्ड हुँदैन।
- नवमीसम्म व्रत बस्ने र त्यसपछि टीकाको दिनदेखि व्रत तोड्ने गरेको पाइन्छ। नवमीसम्म शाकाहारी वा एक छाक मात्र खाएर बस्ने, अनि विजयादशमीको दिन एक्कासि मासु धेरै खाने। त्यसले स्वास्थ्यमा कस्तो असर गर्छ वा त्यस्तो गर्ने मानिसहरूलाई के सल्लाह दिन चाहनुहुन्छ?
व्रत बस्नु शरीरमा भएका टक्सिनहरू फाल्नका लागि राम्रो हो। तर, धेरै लामो समयसम्म (जस्तै ९ दिन) व्रत बस्दा फलफूल, कार्ब्स, भिटामिन्स, मिनरल्स र दहीजस्ता कुराहरू मिलाएर खानुपर्छ। अन्यथा, खानपान नपुग्दा शरीरमा प्रोटिन र फ्याट्स लस भएर मसल मास कम हुन्छ र कमजोरी महसुस हुन सक्छ।
व्रत बस्नुहुन्छ भने शाकाहारी गर्नुहोस्, हप्तामा दुई दिन जस्तो व्रत बस्नुहोस् र व्रतमा पनि फलफूल, मिठाई, शुद्ध चिजहरू सेवन गर्दा राम्रो हुन्छ।
- मासु र मिठाई एकैचोटि सेवन गर्नाले केही नकारात्मक असर पर्छ हाम्रो शरीरमा?
मासु र मिठाई एकैचोटि सेवन गर्नाले नकारात्मक असर गर्नेभन्दा पनि पोर्सन कन्ट्रोल चाहिँ हुनुपर्छ। यदि ४०-६० ग्राम मासु र एक-दुई पिस मिठाई खानुहुन्छ भने त्यस्तो हानिकारक नहोला।
चाडपर्व अगाडि आफ्नो ब्लड टेस्ट, बायोमार्कर टेस्ट (लिभर, किड्नी फङ्सन, सुगर लेभल) गराउनु एकदम राम्रो हुन्छ। यसले तपाईँलाई आफ्नो स्वास्थ्य अवस्थाबारे सचेत गराउँछ।
- दसैँ भन्ने मद्यपान गर्नेहरू पनि हुन्छन्। त्यसले शरीरमा कस्तो असर गर्छ र त्यसले नराम्रो असर गर्नबाट जोगिन के अपनाउने हो?
सकेसम्म मद्यपान नगरेकै राम्रो हुन्छ। यदि गर्नुहुन्छ भने, दिनदिनै नगर्नुहोस् र थोरै मात्रामा मात्र सेवन गर्नुहोस्। डायबेटिक, मधुमेह, प्रेसरका बिरामी र गर्भावस्थामा रहेका महिलाहरूले मद्यपान नगर्नु नै राम्रो।
मद्यपानमा क्यालोरी एकदम बढी हुन्छ, विशेषगरी बियरजस्ता पेय पदार्थमा। यसको नियमित सेवनले कलेजोमा बोसो जम्मा हुने, लिभर सिरोसिसजस्ता समस्या निम्त्याउन सक्छ। रक्सीका टक्सिनहरू शरीरबाट निस्कन ४-६ घण्टा लाग्छ, तर नियमित सेवनले ४८-७२ घण्टासम्म लाग्न सक्छ। यदि कसैले बढी सेवन गर्नुहुन्छ भने तीन दिन जस्तो ग्याप गराउनुहोस्। चाडपर्वमा मात्रै खाएर समस्या नआए पनि नियमित सेवनले कलेजोमा गम्भीर समस्या हुन सक्छ।
- धेरै खाएपछि अपच हुने, ग्यास्ट्रिक हुने, पेट फुल्ने जस्ता समस्याहरू देखिन्छन् । त्यसका लागि के सल्लाह दिनुहुन्छ?
दसैँमा धेरै खानेकुरा खाँदा अपचको समस्या धेरै देखापर्छ। पोर्सन कन्ट्रोल नगर्ने, हतारमा खाने, रमाइलोमा धेरै खाइदिने कारणले यस्तो हुन्छ।
• अपच र ग्यास्ट्रिक: धेरै प्रोटिन (मासु, प्रोसेस्ड मिट) र चिल्लो पदार्थ पचाउन शरीरलाई गाह्रो हुन्छ। यसले पेटमा एसिडको उत्पादन बढाउँछ, जसले वाकवाकी लाग्ने, बान्ता हुने जस्ता समस्या निम्त्याउन सक्छ। ग्यास्ट्रिकका बिरामीले चिल्लो, पिरो, अमिलो खाँदा समस्या बल्झिन सक्छ।
• पेट फुल्ने समस्या: छिटो-छिटो खाँदा हावा पनि निल्ने सम्भावना हुन्छ, जसले ग्यास र ब्लोटिङ गराउन सक्छ।
समाधानका उपायहरू:
• मासु वा रोटीसँगै सलाद, दही, सागपात, तरकारी, सब्जीहरू पनि आफ्नो खानामा समावेश गर्नुहोस्। फाइबरले पाचनमा मद्दत गर्छ र पेटमा भएका जीवाणुहरूलाई राम्ररी काम गर्न सघाउँछ।
• दहीजस्ता प्रोबायोटिक खानेकुराहरूले पेटमा भएका राम्रा जीवाणुहरूलाई बढाउँछ।
• खाना बिस्तारै चपाएर खानुहोस् र पर्याप्त पानी पिउनुहोस्।
रातोपाटी अनलाईनबाट साभार







