तेज डुम्रेल
दिपायल
गाउँघरमा घाँस–दाउरा मेलापात गर्ने क्रममा अत्यधिक सावधानी आवश्यक देखिएको छ । सानो असावधानीले समेत ज्यान जाने घटना डोटीमा पुनः दोहोरिएको छ ।
गत असोज ४ गते घाँस काट्ने क्रममा अरिङ्गालले टोकेर डोटीकी २२ वर्षीया महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शिखर नगरपालिका–२ मुडेगाउँकी मंगला पार्कीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो ।
असोज ४ गते दिउँसो घाँस काट्ने क्रममा दर्जनौं अरिङ्गालले पार्कीको टाउको, हात र घाँटीमा टोकेका थिए । सो क्रममा उनी गम्भीर घाइते भएकी थिइन् । पार्कीलाई उनका परिवारजनले ढिलो गरी उपचारका लागि अस्पताल पुर्याएको बुझिएको छ ।
असोज १८ गते मात्र उनकी आमा मुनुली विकले छोरीलाई राजपुरस्थित महाकाली मेडिकलमा उपचारका लागि लगेको बताइएको छ । तर रगतको अभाव देखिएपछि उनलाई सोही दिन जिल्ला अस्पताल डोटीमा भर्ना गरिएको थियो ।
अस्पतालका प्रमुख मे.सु. डा. सुजित मण्डलका अनुसार शरीरमा रगतको कमी र मृगौलामा समस्या देखिएपछि पार्कीलाई गत मङ्गलवार साँझ सेती प्रादेशिक अस्पताल, धनगढी रिफर गरिएको थियो ।
उक्त अस्पतालमा उपचारका क्रममा आज बिहान ४ः५० बजे पार्कीको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
मृतक पार्कीको श्रीमान् र दुई वर्षका एक छोरा रहेका छन् ।











