तेज डुम्रेल
दिपायल, डोटी।
डोटीको दिपायलमा दिल्पेश्वर क्रिकेट लिग (डीसीएल) सिजन–३ प्रतियोगिता तथा सांस्कृतिक मेला शनिबारबाट सुरु भएको छ। दिल्पेश्वर स्पोर्ट्स क्लबद्वारा आयोजित उक्त प्रतियोगिता दिपायल सिलगढी नगरपालिका–३ मठस्थित दिल्पेश्वर खेल मैदानमा कात्तिक २ गतेसम्म सञ्चालन हुने क्लबका प्रवक्ता रामभक्त सुनारले जानकारी दिए।
यस वर्षको दिल्पेश्वर क्रिकेट लिगमा २२ वटा टिमको सहभागिता रहेको छ। प्रतियोगितामा प्रथम हुने टिमलाई नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्वितीय टिमले ५१ हजार एक सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
त्यसैगरी, म्यान अफ द म्याच, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान, म्यान अफ द सिरिज लगायतका व्यक्तिगत उपाधिका लागि पनि पुरस्कारको व्यवस्था गरिएको क्लबका अध्यक्ष रोहित माझीले जानकारी दिए।
प्रतियोगितामा प्रत्येक टिममा डोटीका कम्तीमा ६ जना खेलाडी अनिवार्य रहनेछन् भने जिल्ला बाहिरका अधिकतम ५ जना खेलाडी सहभागी हुन पाउने छन्। विदेशी खेलाडीहरू दुई जनासम्म समावेश गर्न सकिने नियम बनाइएको आयोजकले जनाएको छ।
पहिलो चरणका खेलहरू नकआउट प्रणालीमा र दोस्रो चरणका खेलहरू लिग प्रणालीमा खेलाइने छन्। पहिलो चरणका विजेता टिमहरूले मात्र लिग चरणमा प्रवेश पाउनेछन्।
प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले एक समारोहका बीच गर्नुभयो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिंहले राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै भने, “जहाँ खेलकुद हुन्छ, त्यहाँ विकास हुन्छ। खेलले नागरिकको व्यक्तित्व विकास मात्र होइन, सामाजिक, भौतिक र आर्थिक प्रगतिमा समेत टेवा पुर्याउँछ।”
त्यस्तै, दिपायल सिलगढी नगरपालिका उप–प्रमुख कलावती महरा साउँदले खेलाडीहरू देशका गहना भएको बताउँदै खेलकुदमा प्रोत्साहन र सहयोगको आवश्यकता रहेकोमा जोड दिनुभयो।
नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बमले स्वस्थ नागरिक उत्पादन र राष्ट्रिय पहिचान उजागर गर्न खेलकुद अपरिहार्य रहेको बताउँदै, यस क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहले लगानी बढाउनुपर्ने धारणा राख्नुभयो।
दिल्पेश्वर स्पोर्ट्स क्लबका अध्यक्ष रोहित माझीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा दिल्पेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक दीर्घबहादुर कठायतले क्लबले स्थानीय स्तरमा खेलकुदको विकासमा महत्वपूर्ण योगदान दिएको बताउँदै सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, खेलकर्मी र सर्वसाधारणको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा विविध सांस्कृतिक नृत्य र नाटक प्रस्तुत गरिएको थियो।
तीन वर्षअघि स्थापना भएको दिल्पेश्वर स्पोर्ट्स क्लबले भलिबल, क्रिकेट प्रतियोगिता र स्थानीय कला–संस्कृतिसँग सम्बन्धित कार्यक्रमहरू आयोजना गर्दै आएको छ।








