तेज डुम्रेल
दिपायल, डोटी।
नेपाल आइडल सिजन–६ का प्रतिस्पर्धी निरज विश्वकर्मालाई दिपायलमा नागरिक अभिनन्दन गरिएको छ।
दिपायल सिलगढी नगरपालिका–४ का गायक विश्वकर्मालाई दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ कार्यालय, उद्योग वाणिज्य संघ डोटी र संगीतकर्मी संघ डोटीले संयुक्त रूपमा नागरिक अभिनन्दन गरेका हुन्।
विश्वकर्माले नेपाल आइडल सिजन–६ मा सुदूरपश्चिमबाट एक्ला प्रतिस्पर्धीका रूपमा सहभागिता जनाएका थिए।
नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अशोक बरालले आफ्नै वडाबाट नेपाल आइडलजस्ता राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी हुन पाउँदा गौरव महसुस भएको बताउनुभयो।
कार्यक्रममा उद्योग वाणिज्य संघ डोटीका कोषाध्यक्ष आइजङ कुँवरले पनि विश्वकर्माको सफलताको प्रसंसा गर्दै स्थानीयको तर्फबाट खुशी प्रकट गर्नुभयो।
त्यसैगरी, नेकपा ९माओवादी केन्द्र० का युवा नेता तथा समाजसेवी केशवनाथ योगीले निरजको संगीत यात्रामा सुदूरपश्चिमले निरन्तर साथ र समर्थन दिने प्रतिबद्धता जनाउनुभयो।
राजपुरदेखि बाजागाजा सहित पिपल्ला बजार परिक्रमा गराउँदै विश्वकर्माको स्वागत गरिएको थियो। फूलमाला र खाँदाले सिँगारी बजारले उनलाई भव्य स्वागत गरेको उक्त कार्यक्रममा उद्घोषकको भूमिका रामु सुनारले निर्वाह गर्नुभएको थियो।











