डोटेली आवाज अनलाइन
दिपायल ।
दशैं बिदामा घर आएका प्रहरी जवान शंकर बलायरको मृत्यु प्रकरणमा डोटी प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बाजुराको गौमुल गाउँपालिका–२ का ३३ वर्षीय बस चालक गणेश धामीलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार धामीले चलाएको बाजुराबाट धनगढीतर्फ जाँदै गरेको ना.७ ख १७२ नम्बरको यात्रुवाहक बसले प्रहरी जवान बलायरलाई शुक्रबार राति ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
बस चालक धामी असोज १७ गते रातिदेखि फरार रहेका थिए । उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नेपालले बताउनुभयो ।
शिखर नगरपालिका–८ तिलतालीका २८ वर्षीय प्रहरी जवान बलायर हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत थिए । उनी असोज ७ गतेदेखि दशैं बिदामा घर आएका थिए ।
बलायर असोज १७ गते राति करिब १२ः१५ बजे शिखर नगरपालिका–८, गोपघाटस्थित केआई सिंह राजमार्गको सडकमा घोप्टो अवस्थामा मृत फेला परेका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।








