विज्ञापन

सुदूरपश्चिममा १० लाखभन्दा कमका आयोजना रोक्ने प्रदेश सरकारको निर्णय

विज्ञापन
Image


डोटेली आवाज, धनगढी

सुदूरपश्चिम प्रदेश सरकारले १० लाख रुपैयाँभन्दा कम बजेट विनियोजन भएका कुनै पनि आयोजना अब कार्यान्वयन नगर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री कमलबहादुर शाहको निवास धनगढीमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले साना रकमका आयोजना बन्द गर्ने निर्णय गरेको हो। साथै, प्रदेश सरकार मातहतका निकायमार्फत सञ्चालन हुने आयोजना उपभोक्ता समितिमार्फत कार्यान्वयन नगर्ने र एउटै क्रियाकलाप नम्बरमा समावेश दुई वा दुईभन्दा बढी खानेपानी तथा सिँचाइबाहेकका अन्य आयोजना कार्यान्वयन नगर्ने निर्णय समेत बैठकले गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

यससँगै हालका विनियोजित रकममध्ये छपाइ तथा प्रकाशन शीर्षकमा ७० प्रतिशत, र बैठक भत्ता, भ्रमण भत्ता, अनुगमन तथा मूल्याङ्कन खर्च, तालिम, गोष्ठी आदिमा ५० प्रतिशत बजेट कटौती गर्ने निर्णय गरिएको छ। अनुभव आदान–प्रदान, अन्तरप्रदेश भ्रमण, दिवस, समारोह र उत्सव मनाउनेजस्ता कार्यक्रम पनि कार्यान्वयन नगर्ने बैठकको निष्कर्ष छ।

यसैबीच मुख्यमन्त्री शाहको उपस्थितिमा शुक्रबार बसेको प्रदेश सुरक्षा समितिको बैठकमा चाडपर्व लक्षित सुरक्षा योजनाबारे नेपाल प्रहरीले जानकारी गराएको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीको अध्यक्षतामा बसेको बैठकमा मुख्यमन्त्री शाहले चाडपर्वमा अवाञ्छित गतिविधि र आपराधिक घटना बढ्न सक्ने भन्दै शान्ति–सुरक्षा चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

गत भदौ २३ र २४ गतेका घटनापछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउने, नागरिकलाई शान्ति–सुरक्षाको अनुभूति दिलाउने, कालोबजारी र भारतसँग जोडिएका सीमाक्षेत्रमा हुने लुटपाट रोकथाम गर्ने तथा आवागमनमा देखिन सक्ने समस्या समाधानका लागि प्रहरी र सम्बन्धित निकायलाई सक्रिय रहन उनले आग्रह गरेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन